केपी ओली अशिष्ट र निकृष्ट: योगेश भट्टराई

काठमाण्डु टुडे २०७७ पुष २० गते १७:३१ मा प्रकाशित

काठमाण्डु, २० पुस– नेकपा प्रचण्ड–नेपाल समूहका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओली अशिष्ट भएको टिप्पणी गरेका छन् ।

भट्टराईले असंवैधानिक रुपमा संसद विघटन गरेका प्रधानमन्त्री ओलीले आफ्नै सहकर्मी नेताहरुविरुद्ध अशिष्ट र अमर्यादित टिप्पणी गरेको भन्दै आपत्ति जनाए । ओलीले समाजलाई अशिष्टता, गालीगलौज, अमानवियता तथा निकृष्टता सिकाइरहेको टिप्प्णी ओलीको थियो ।

‘प्रधानमन्त्रीज्यू के तपाईं होसमा त हुनुहुन्छ ? मैले मेरो प्रधानमन्त्रीले मानसिक सन्तुलन गुमाउनु भयो भनेको छैन । मैले मेरो प्रधानमन्त्रीमा पागलपन सवार भयो भनेको पनि छैन’, प्रचण्ड–नेपाल पक्षीय कार्यकर्ता भेलालाई सोमबार चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले भने, ‘उहाँले हिजोको भाषणमा जे शब्द प्रयोग गर्नुभयो, त्यो अति भयो । यो उहाँमा भएको अशिष्टता, अमानवियता र निकृष्टता बाहिर आएको हो ।’ फरक प्रसंगमा उनले चितवन गृहमन्त्री रामबहादुर थापा बादलको जिल्ला भएको स्मरण गर्दै बादल गर्जन र बर्सन नसकेको टिप्पणी गरे ।

विगतमा जस्तै बादल गर्जिन्छ र बर्सिन्छ भन्ने हामीलाई लागेको थियो’, उनले भने, ‘यसपटक बादल न गर्जियो, न बर्सियो ।’ ओलीले पछिल्लो समय आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रचण्ड र माधव नेपालप्रति अशिष्ट भाषामा गालीगलौज गर्दै आएका छन् ।

शनिबार कामाण्डुका कार्यकर्तालाई सभागृहमा सम्बोधन गर्दा ओलीले प्रचण्ड–नेपाललाई खिया लागेका दुई टन बोल्टु र भेट्नु कुहिएर झरेका फलको संज्ञा दिए । आइतबार बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित आफू पक्षीय अखिल कार्यकर्तामाझ ओलीले प्रचण्ड र नेपाललाई श्रद्धाञ्जली दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us