
काठमाण्डु, २० पुस– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभा विघटनसँगै वर्तमान सरकार काम चलाउनमा परिणत भएको बताएकी छन् ।
प्रधानमन्त्री केपी ओली र कतिपय मन्त्रीले वर्तमान सरकार कामचलाउन नभएको जिकिर गरिरहेका बेला पूर्वकानूनमन्त्री समेत रहेकी तुम्बाहाम्फेले त्यस्तो बताएकी हुन् । तुम्बाहाम्फेले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन संविधान अनुसार नभए पनि प्रधानमन्त्रीको विशेषाधिकार भएको दाबी गरिन् ।
‘संसद् विघटनबारे संविधानमा स्पष्ट लेखिएको त छैन’, उनले भनिन्, ‘बाध्यात्मक अवस्थामा ताजा जनादेशमा जान प्रधानमन्त्री केपी ओलीले संसद विघटनको निर्णय गर्नुभएको हो ।’ उनले तोकिएकै समयमा निर्वाचन हुने दाबीसमेत गरिन् । उनले प्रदेशसभाहरु पनि विघटन हुन सक्ने बताएकी छन् ।
नेपालको संविधानले प्रदेशसभा पनि विघटन गर्न सक्ने अधिकार दिएको जिकिर तुम्बाहाम्फेले गरिन् । ‘नेपालको राजनीतिमा केन्द्रमा जे अवस्था देखिएको छ त्यसको प्रभावले प्रदेशसभा पनि विघटन हुन सक्छ’, विराटनगरमा सञ्चारकर्मीसँग तुम्बाहाम्फेले भनिन्, ‘प्रदेशसभा पनि विघटन हुन सक्छ ।’