
काठमाण्डु, १८ पुस– नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई भेट्नु कुहिएर झरेको फल र खिया लागेर खुस्किएको बोल्टुको संज्ञा दिएका छन् ।
आफू पक्षीय कार्यकर्ता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपालले छाडेपछि पार्टीले गति लिएको बताए । ‘समस्या कहाँनेर रहेछ ? जाम कहाँ भएको रहेछ ? खिया कहाँ लागेको रहेछ ?’, ओलीले भने, ‘दुईटा नटबोल्टु फेर्दाखेरि गाडी अगाडि बढ्यो । हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबल्टु, खिया लागेका दुईटा नटबोल्टु फुक्लिएका थिए पार्टी गतिसाथ अगाडि गयो ।’
ओलीले प्रचण्ड–नेपालले निर्वाचन आयोगमा आफूहरु असली नेकपा भन्दै निवेदन हालेको बारे आफूलाई निर्वाचन आयोगले शुक्रबार जानकारी दिएको भन्दै ब्यंग्य गरे । प्रचण्ड–नेपाल पक्षको पार्टी आधिकारिकतबारेको दाबीलाई उनले ब्रम्हजियाको पेडा पसलसँग तुलना गरे । ‘उहाँहरु पार्टी फुट्यो भनेर कराइराख्नुभएको छ । निर्वाचन आयोगबाट मैले हिजो एउटा पत्र प्राप्त गरें । उहाँहरुले एउटा निवेदन हाल्नुभएको रहेछ । असली हामी हौं भनेर’, ओलीले भने, ‘यो ब्रम्हजियाको बूढाको पेडा पसल हो ? असली र नक्कली ? असली बुूढो मै हो । असली बूढोको पेडा पसल भनेर अहिले पेरिसडाँडामा १२÷१५ जना पत्रकार सम्मेलन गर्नुभएको छ ।’
ओलीले जसको घर हो ऊ निवेदन हाल्न नजाने भन्दै नेकपा र सूर्य चिन्ह आफ्नो भएको जिकिर गरे । ‘जसको घरको ऊ निवेदन हाल्न जान्छ ? मेरो घर हो भनेर ? जसको जमिन हो ऊ मेरो जमिन हो भनेर जान्छ ? जसको गाडी हो उसले या मेरो गाडी हो निवेदन हालेर जान्छ ? हामीले बनाएको पार्टी हो । त्यस कारण हामी निवेदन हाल्न गइरहनुपर्ने जरुरी छैन । हामी विधिसम्मत ढंगले लोकतान्त्रिक ढंगले, पार्टीको विधानअनुसार, नियमावलीअनुसार पार्टी सञ्चालन गरिरहेका छौं । भेट्नु कुहेर झरेका र्दुइटा फलहरुले रुखै म हो भनेर दाबी गर्ने ?’, ओलीले भने ।
ओलीले अहिले पनि प्रचण्ड नेकपाको अध्यक्ष र झलनाथ र माधव नेपाल वरिष्ठ नेता रहेको उल्लेख गरे । ‘हामीले उहाँहरुलाई पार्टीको बैठकमा आउनुस् भनेका छौं । पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष र झलनाथ खनाल, माधव नेपाललाई वरिष्ठ नेतामा राखिराखेका छौं । अझै पनि केही साथीहरु आउनुभएको छैन । आउनु होला, हामीलाई कुनै हतारो छैन’, उनले भने । ओलीले प्रचण्ड–नेपाल समूहले गरेको आन्दोलन र त्यसमा सहभागीहरुप्रति पनि व्यंग्य गरे । ‘अलिअलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि जम्मा गर्छ’, उनले भने ।