हिउँदे बिदामा पनि पठनपानठ, फागुनमा वार्षिक परीक्षा

रासस २०७७ पुष १६ गते ९:४८ मा प्रकाशित

हुम्ला, १६ पुस– हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् ।

लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

बुधबारदेखि विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीको उपस्थित न्यून रहेको बताइएको छ । कोरोना त्रासका कारण जिल्ला बाहिरका शिक्षक आउन नमानेको र स्थानीय शिक्षकले विद्यालय खोलेर सञ्चालनमा ल्याएका हुन् । जिल्ला बाहिरका शिक्षक उपस्थित नहुँदा बुधबारदेखि खोलिएका गाउँपालिकाभित्रका विद्यालय नियमित सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा आज गाउँपालिका शिक्षा शाखाले निर्णय गर्ने भएको हो । विद्यार्थी कोरोनाको त्रासभन्दा चिसोका कारण विद्यालय उपस्थित हुन नसकेका हुन् ।

अदानचुली गाउँपालिकामा चारवटा मावि, चारवटा निमावि र १० वटा प्रावि गरेर १८ सामुदायिक विद्यालय छन् । कर्णालीका हिमाली जिल्लामा पुस र माघमा जाडो बिदा हुने गरेको छ । कोरोनाका कारण वर्षभरि अवरुद्ध भएको पढाइ नियमित गर्न हिउँदे बिदामा पनि विद्यालय बन्द नगर्ने निर्णय गरिएको गाउँपालिकाको शिक्षा शाखा स्रोतले जानकारी दिएको छ ।

फागुनमा वार्षिक परीक्षा सञ्चालन 

जिल्लाका अन्य छ वटा गाउँपालिकाले हिउँदमा चिसो अत्यधिक हुने भएकाले फागुनमा वार्षिक परीक्षा सञ्चालन गर्ने भएका छन् । गत वर्षको चैत महिनाबाट कोरोना सङ्क्रमण त्रासका कारण विद्यालय बन्द भएपछि हिउँदे बिदा सकाएर फागुनमा वार्षिक परीक्षा सञ्चालन गरेर नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा रहेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

हिउँदको समयमा हुम्लासहित कर्णालीका उच्च हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएकाले हिउँदको समयमा पठनपाठन नगरी फागुनमा नयाँ वार्षिक परीक्षा गरेर पुनः नयाँ शैक्षिक सत्र शुरु गरिने अध्यक्ष लामाले जानकारी दिए । नाम्खा गाउँपालिकाको महाबौद्ध याल्वाङसहित अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि शैक्षिक संस्था बन्द गरेर फागुनमा हिमपात नभएमा वार्षिक परीक्षा गरिने भएको अध्यक्ष लामाले बताए।

मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर पुस, माघ दुई महिना हिउँदे बिदा हुने भए पनि यो वर्ष कोरोनाका कारण पठनपाठन नहुँदा फागुनभित्रै परीक्षा सञ्चालन गरी शैक्षिक सत्र शुरु गरिने भएको हो । उत्तरी नाम्खा गाउँपालिकामा चिसो अत्यधिक हुने भएकाले कात्तिक महिनामा नै वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुने गथ्र्यो तर यो वर्ष कोरोनाका कारण सिधै फागुनमा गर्ने तयारी गरिएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us