
काठमाण्डु, १३ पुस–नवनियुक्त वन तथा वातावरणमन्त्री प्रेम आले आइतबार साँझ व्यक्तिगत सामान र सहयोगीसहित मन्त्री क्वाटर पुलचोक गए ।
आलेका सहयोगीले दिउँसै डी–४ नम्बरको क्वाटरको गेटमा मन्त्री आलेको नाम टाँस्न लगाएका थिए । यअसघि सोही क्वाटरमा तत्कालीन वनमन्त्री शक्तिबहादुर बस्नेत बसेका थिए । यसअघि पनि वनमन्त्री नै बसेका कारण आलेले उक्त क्वाटरको दाबी गर्नु अस्वाभाविक थिएन । आले जब क्वाटरभित्र पसे तब एक महिला देखे । उनी थिइन् नवनियुक्त उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक । उनले भने, तपाईं यहाँ किन ? विक पनि झोक्किइन । उनले भनिन्, यो मेरो क्वाटर हो । आलेले राज्यमन्त्रीका लागि पुलचोकमा क्वाटर नहुने र सरकारले बाहिरै व्यवस्था गर्ने गरेको भन्दै सम्झाउन खोजे । तर, विकले मानिनन् ।
दुईबीच केहीबेर भनाभन नै चल्यो । जब राज्यमन्त्रीका लागि पुलचोकमा क्वाटर हुँदैन भन्ने विकले बुझिन्, त्यसपछि केही नरम रुपमा प्रस्तुत भइन् । आलेको काठमाण्डुमै घर भएको र आफ्नो केही नभएको । आफूमात्र बसेर नहुने र आर्मी÷प्रहरीसमेत गरेर १०÷१२ जना सुरक्षाकर्मी हुने भएकाले व्यवस्थापन गर्न असमर्थ रहेको भन्दै आलेलाई घरमै बस्न र आफूलाई क्वाटर छाडिदिन आग्रह गरिन् । आलेले मिल्दै नमिल्ने भन्दै बरु सामान लिएर निस्कन भने ।
लामो गलफतीपछि आलेले उद्योग। बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई आफ्नो राज्यमन्त्रीको बाहिरै व्यवस्था मिलाउन र आफ्ना लागि क्वाटर खाली गराइदिन आग्रह गरे । भट्टले रात परिसकेकाले एक दिन बस्न दिन आग्रह गरेपछि आले सामान र केही सहयोगीलाई त्यहीं छाडेर काटेश्वर महादेवस्थान नजिकै हरेको निजी निवासमा गएर सुते । तर, विकले सोमबार पनि क्वाटर छाडेकी छैनन् ।