अन्तर्राष्ट्रिय उडान सेवालाई इजाजत खुला

काठमाण्डु टुडे २०७७ वैशाख १९ गते ८:२८ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– अन्तर्राष्ट्रिय हवाई सेवामा स्तरोन्नति गर्न चाहने आन्तरिक हवाई सेवा प्रदायकका लागि सरकारले इजाजतपत्र खुला गरेको छ ।

निश्चित सर्त र योग्यता तोकेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वैशाख १५ गतेको मन्त्रीस्तरीय बैठकले इजाजतपत्र खुला गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५ मा भएको सर्त तथा योग्यता पूरा गरेकालाई यस्तो इजाजतपत्र उपलब्ध गराइने मन्त्रालयले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय उडान गर्न चाहेका आन्तरिक उडान कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन यस्तो अनुमति जारी गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।

इजाजतपत्रका लागि आवेदन दिन वायुसेवा सञ्चालनको वर्गीकरणअनुसार चुक्ता पुँजी पनि फरकफरक निर्धारण गरिएको छ ।

जसअनुसार ‘क’ वर्गको वायुसेवा सञ्चालनका लागि एक अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने छ । त्यस्तै ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालनका लागि ५० करोड रुपैयाँ चुक्ता पुँजी निर्धारण गरिएको छ ।

 

यो चुक्ता पुँजी तीनवटा विमानबाट अन्तर्राष्ट्रिय उडान गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीका लागि हो । तीनभन्दा बढी विमान थप भएमा प्रतिविमान १० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउनुपर्ने छ । कम्पनी रजिस्ट्रार कार्यालयबाट तोकिएको चुक्ता पुँजी पूरा भएको विवरण पेस गर्नुपर्ने पनि मन्त्रालयले जनाएको छ ।
गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us