ओली र देउवाको बैठकमा प्रचण्डको इन्ट्री

काठमाण्डु टुडे २०७७ वैशाख १२ गते २०:०८ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– काँग्रेस सभापति शेरबहादुर देउवालाई शुक्रबार प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलाएर भेटे ।

देउवासँग एक घण्टाजति छलफल गरेपछि ओलीले प्रचण्डलाई पनि बालुवाटार बोलाए । अनि, बैठक द्विपक्षीयबाट त्रिपक्षी भयो ।

तीन नेताबीच मुलुकको पछिल्लो अवस्था र कोभिड–१९ महामारीविरुद्ध कसरी एकताबद्ध भएर लड्ने भन्नेबारे छलफल भएको बुझिएको छ ।

सरकारले राजनीतिक दल विभाजनलाई सजिलो. हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश र न्यायपरिषदमा प्रमुख प्रतिपक्षी दलका नेताको भूमिका कमजोर बनाउने गरी ल्याइएका दुई विवादास्पद अध्यादेश खारेज भएलगत्तै ओलीले राजनीतिक छलफल तीव्र पारेका हुन् ।

अध्यादेश फिर्ता गर्न सुरुदेखि नै सक्रिय प्रचण्ड र चर्को विरोध गरेर पार्टी सम्वद्ध भातृ संस्थालाई लकडाउनका बीच सरकारविरुद्ध सकडमा उतारेका देउवासँग ओलीले समस्या समाधानबारे सकारात्मक कुरा गरेको स्रोतले जनाएको छ ।

‘कोभिड–१९ महामारीविरुद्ध मिलेर कसरी लड्ने भन्नेबारे छलफल भयो’, बालुवाटार स्रोतले भन्यो, ‘दुई पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्रीज्यूलाई सकारात्मक सुझाव दिनुभएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us