काठमाण्डु,२४माघ–पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दावी गर्दै पुन दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
यससँगै प्रेरणाले आफ्नो दावी गर्दैआएको काठमाण्डुको छाउनीमा रहेको १५ रोपनी एक आना जग्गा जग्गा नेपाल ट्रष्टकै मातहत हुनेछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँचजनाको संवैधानिक इजलाशले शुक्रबार यस्तो फैसला सुनाएको हो।
इजलाशमा राणासहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह थिए। २०६४ पुस १ मा सरकारले पूर्वराजा वीरेन्द्रको सम्पत्तिका रुपमा रहेको जग्गा नेपाल ट्रष्टमा गाभ्ने निर्णय गरेको थियो।
छाउनीको जग्गा आफ्नो दाइजो भएको दावी गर्दै प्रेरणा पहिलो पटक २०७१ माघ २५ मा सर्वोच्च अदालत पुगेकी थिइन्।
तत्कालीन प्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराले २०७२ असोजमा प्रेरणाकै पक्षमा फैसला गरेका थिए । तर उक्त फैसलाविरुद्ध नेपाल ट्रष्टले पुनरावलोकनको निवेदन हालेको थियो ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको संयुक्त इजलासले २०७३ पुस २१ गते सो जग्गा ट्रष्टको हुने फैसला गरेको थियो। तर, आफूले दाइजोको रुपमा पाएको जग्गा सरकारले नेपाल ट्रष्टअन्तर्गत ल्याउन नमिल्ने भन्दै प्रेरणाले २०७५ पुस ६ गते फेरि रिट दायर गरेकी थिइन्।