
महोत्तरी,९साउन- बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका-५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर-बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् ।
असार २८ गते जिल्लाको रातु नदीमा आएको भीषण बाढीले लोहारपट्टी-५ डठौरा सिङ्गो गाउँ नै डुबानमा पारेपछि त्यहाँका २९६ परिवार विगत १२ दिनदेखि रेल्वे लिकमै बास बस्न बाध्य भएका हुन् । उक्त नदी निकारमै रहेको डठौरा गाउँमा बाढी आएपछि नदीको तटबन्ध भत्किएर बाढी गाउँमै पसेपछि उनीहरू घर छोडेर रेल्वे लिकमा बास बसेको स्थानीयवासी शनिश्चरी सदाले बताए ।
बाढीले गाउँका सबै घर भत्काएकाले अझैसम्म जमिरहेको पानीले अति प्रभावित उनीहरु रेल्वे लिकमा पाल टाँगेर झरी र घामको सामना गर्न बाध्य छन् । रेल्वे लिकमा बास बस्दै आएका उनीहरुलाई खाना, खानेपानी, बस्न, सुत्न, स्वास्थ्य र शौचालयको निक्कै समस्या भएको स्थानीयवासी जीवछ सदाले बताए।