
काठमाण्डु, २१ असार– भारतबाट आयातित फलफूल तथा तरकारीमा विषादी परीक्षण रोकिएकामा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले आपत्ति जनाएको छ ।
कार्यबाहक अध्यक्ष रञ्जित तामाङले शनिबार विज्ञप्ति जारी गर्दै उक्त पछि हटाइले सरकार र सरकारका निकायहरु अनुचित विदेशी दबाबमा परेको आशंका भएको आरोप लगाएका छन् । भारतीय तरकारीको विषादी परीक्षण रोक्ने सरकारको निर्णय नेपालको संविधानको धारा ३६ को खाद्यसम्बन्धी मौलिक हकको समेत मर्मविपरीत रहेको ठहर अनेरास्ववियूको छ अनेरास्ववियुले विदेशी शक्तिको दबाबमा नपरी आयातित विषाक्त फलफूल र तरकारीको सिमा क्षेत्रमा परीक्षण गरेर मात्र प्रवेश गराउने पूर्ववत निर्णयमा अडिग रहन सरकार र सम्वद्ध मन्त्रालयसमक्ष विषादी परीक्षण गर्ने पूर्ववत निर्णय कार्यान्यवन गर्न माग गरिएको छ ।
मन्त्रिपरिषदको निर्णयअनुसार २ असारबाट भारतीय नाका हुँदै नेपाल भित्रिने फलफूल तथा तरकारीमा विषादीको मात्रा परीक्षण गरेर मात्र प्रवेश दिन थालिएको थियो । भारतले त्यसप्रति आपत्ति जनाउँदै परीक्षण रोक्ने दबाब दिएको थियो । नेपालस्थित भारतीय दूतावासले लिखित रुपमै परराष्ट्र मन्त्रालयमार्फत उक्त काम तत्काल रोक्न सरकारलाई दबाब दिएको थियो ।