महिला उद्यमीद्वारा बिरामीको उपचारमा आर्थिक सहयोग

काठमाण्डु टुडे २०७६ असार २० गते १५:४२ मा प्रकाशित

काठमाण्डु, २० असार– उद्योगी–व्यवसायी महिलाहरुको एक समूहले वीर अस्पतालमा उपचार गराइरहेका दुई बिरामीलाई आर्थिक सहायता गरेका छन् ।
१ सय १ जना महिला सहभागी ‘नारीको साथी साथीको माया’ नामक अभियानले शुक्रबार गोरखा बारपाककी माया घले र नाम थर नखुलेकी करिब ६० वर्षकी बेसहारा वृद्धाको उपचारमा सहयोग गरेको हो । घले स्तन क्यान्सर र ओभरियो (नशामा मासु जम्ने) क्यान्सरबाट पीडित हुन् । अभियानले घलेलाई १० हजार र ती वृद्धालाई २५ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ । अभियानका तर्फबाट अन्जना ताम्राकारले रकम हस्तान्तरण गरिन् । दुवै बिरामी आर्थिक अवस्थाका कारण उपचार गर्नै नसक्ने अवस्थामा रहेकाले आफूहरुले सहयोग गरेका ताम्राकारले बताइन् । अबदेखि हरेक महिनाको एक दिन संस्थाका तर्फबाट दुई बिरामीलाई उपचारमा आर्थिक सहायत प्रदान गरिने महिला चेम्बर अफ कमर्सकी सचिव लीमा अधिकारीले जानकारी दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us