डिआईजीले फोन गर्दा एसपीले लेख्नै नमिल्ने गाली गरेपछि…

काठमाण्डु टुडे २०७६ असार २० गते ६:५५ मा प्रकाशित

पोखरा, २० असार- नागरिकले मादक पथार्थ सेवन गरेर अराजक गतिविधि गर्दा नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने र समाजमा अमनचयन कायम गर्नुपर्ने प्रहरीका उच्च अधिकृत कार्यालय समयमा आफैं रक्सीले मात्तिएर बस्छन् ।

अनुशासनमा नबस्नेलाई ठेगान लगाउने जिम्मा लिएका प्रहरी अधिकारी उल्टै आफ्ना हाकिमले बारम्बार फोन गर्दा रिसिभ गर्दैनन् । धेरैपटक फोन आएपछि कल ब्याक गर्छन् र आफूभन्दा दुई तहमाथिका अधिकृतलाई सुन्नै नसक्ने र लेख्नै नमिल्ने शब्द प्रयोग गरेर मुख छाड्छन् भने के होला ? तर, प्रदेश चारमा भएको छ यस्तै । प्रदेश ४ प्रहरी कार्यालयमा प्रमुख डिआईजी विनोद शर्मा घिमिरेलाई गोरखा प्रहरी प्रमुख एसपी भोला रावलले मदिराले मात्तिएर मोबाइल फोनमा आमाचकारी गाली गरेका हुन् । जिल्लाको ट्राफिक व्यवस्थापन गर्न सचेतनामुलक कार्यक्रम आयोजना आदेश दिनका लागि घिमिरेले रावललाई बुधबार धेरैपटक फोन गरे । तर, रावलको फोन उठेन । प्रदेश प्रमुख र जिल्ला इन्चार्जबीच सिधा सम्पर्क हुनुपर्ने । जिल्ला प्रमुखले हरेक दिनजसो प्रदेश प्रमुखलाई रिपोर्ट गर्नुपर्ने हो । तर, पटकपटक फोन गर्दा पनि उठेन । डिआईजी घिमिरेले प्रदेशको सञ्चारमार्फत एसपी रावललाई आफूलाई फोन गर्न लगाउनू भन्ने आदेश दिए । त्यसपछि रावलले घिमिरेलाई फोन त गरे तर, जयनेपाल समेत नगरी सुरुमै उनले डिआईजीलाई मुख छाडे । कहिले गीत गाउने र कहिले गाली गर्ने गरे रावलले । आमाचकारी गाली केहीबेर सुनेपछि घिमिरेले थप सुन्न सकेनन् र काटिदिए । आफ्नो मातहको जिम्मेवार प्रहरी अधिकृतले फोनमा तथानाम गाली गरेको विषयमा डिआईजी घिमिरेले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई रिपोर्ट गरे । खनालको आदेशमा घिमिरेले प्रदेश प्रहरी कार्यालयका एसपी हरिराज वाग्लेलाई गोरखा पठाए । वाग्ले जिल्ला अदालतबाट डाक्टर लिएर एसपीको निवासमा पुगे । उनी अझै रक्सी पिइरहेका थिए । डाक्टरले मापसे जाँच गरेपछि वाग्ले रिपोर्ट लिएर पोखरा फर्किए । रावललाई अर्धचेत अवस्थामा त्यहीं छाडिदिए ।
घटनाबारे के भन्छन् घिमिरे ?
मैले गोरखाका एसपीलाई फोन गरें । धेरैपटक फोन गर्दा उठेन । पछि सञ्चारमार्फत खबर गराएँ । बल्ल उताबाट कल ब्याक आयो । सुरुमै उहाँले मुख छाड्नुभयो । आमाचकारी गाली गर्नुभयो । गीत पनि सुनाउनुभयो । जिल्लाको सुरक्षाको कमाण्ड लिएर बसेको प्रहरी अधिकारीले गर्न मिल्ने व्यवहार थिएन त्यो । यो त हदै भयो । केहीबेर सुनेपछि फोन काटिदिएँ । आफूले रिपोर्ट गर्नुपर्ने निकायमा रिपोर्ट गरें । प्रदेश प्रहरी कार्यालयका एसपी हरिराज वाग्लेको नेतृत्वमा टिम पठाएर मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गराइयो । माथिबाट कारबाही गर्ने कुरा भएको छ । प्रहरी आचरणमाथि धावा बोल्नेमाथि कारबाही हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us