विप्लवका प्रवक्ताको विज्ञप्तिः उच्चस्तरको प्रतिरोध गर्ने चेतावनी

काठमाण्डु टुडे २०७६ असार १७ गते १८:०३ मा प्रकाशित

file photo

काठमाण्डु, १७ असार– सरकारकाद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारी दमन जारी रहे उच्च स्तरको प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) द्वारा मंगलबार जारी विज्ञप्तिमा सरकारले आफूहरुप्रतिको कडा रबैया जारी राखे सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । विज्ञप्तिमा केपी ओली सरकारले देशव्यापी रुपमा राज्य आतंक मच्चाएको आरोप लगाइएको छ । विकले संखुवासभामा घरमा बसिरहेका कार्यकर्तामाथि प्रहरी दमन केन्द्रित भएकामा आपत्ति जनाएका छन् । गस्तीमा गएको प्रहरीमाथि लक्षित गर्दै सशस्त्र हतियारधारी विप्लव समूहले संखुवासभाको सिलिचुङ गाउँपालिका–१ मा फायरिङ गरेपछि तनाव बढेको छ ।

गृह मन्त्रालयले हतियारधारी समूह नियन्त्रणका लागि भन्दै नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका २५ जनाको विदेश कमाण्डो टोली सैनिक हेलिकोप्टरबाट सोमबारै घटनास्थल आसपास झारेको थियो । ‘एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने , अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता÷कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने ओली(बादल मण्डली सरकारको दमन कार्य निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ । सरकारले समयमै व्यवहार परिवर्तन नगरे आफूहरु निर्मम प्रतिकारमा उत्रने र त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने विकले चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us