‘अन्धो र बहिरो’ भनेका कांग्रेस नेताले मागे माफी

काठमाण्डु टुडे २०७६ असार ३ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, ३ असार – कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले संसदमा दिएको अभिव्यक्तिले फरक क्षमता भएका व्यक्तिलाई चोट पुग्न गएको भन्दै माफी मागेका छन् ।

संसदमा प्रस्तावित गुठी विधेयकका बारेमा आफ्नो धारणा राख्ने क्रममा कांग्रेस सांसद बडूले सरकारको आलोचना गर्न फरक क्षमता भएका व्यक्तिलाई होच्याउने शब्द प्रयोग गरेका थिए ।

बडूको अभिव्यक्तिप्रति पत्रकार गजेन्द्र बुढाथोकीले सामाजिक सञ्जालमै आलोचना गर्दै बडूले प्रयोग गरेका आपत्तिजनक शब्दहरु संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । त्यसपछि कांग्रेस सांसद गगन थापाले पत्रकार बुढाथोकीको माग जायज भएको भन्दै त्यसलाई सम्बन्धित ठाउँसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पछि कांग्रेस सांसद बडूले आफूले कुनै समूहलाई चोट पुर्‍याउन नखोजेको भन्दै माफी मागेका छन् । उनले पत्रकार बुढाथोकीको ट्वीटमा जवाफ दिँदै लेखेका छन्, ‘प्रस्तुत गुठी विधेयककोविरुद्ध बढ्दो आन्दोलनलाई सरकारले नदेखेको तथा जायज आवाजलाई नसुनेको दोषारोपण गर्दा प्रयोग भएका शब्दहरुबाट पर्न गएको पीडाका निमित्त क्षमा याचना गर्दछु । फरक क्षमता भएका व्यक्ति वा समूहलाई पीडा पुर्याउने मेरो कुनै आशय कदापि हुन नसक्ने यथार्थ समेत अनुरोध गर्दछु ।’


सांसद बडुले सोमबार संसदमा गुठी विधेयकको विरोध गर्ने क्रममा सरकार ‘अन्धो’ भएको टिप्पणी गरेका थिए । ‘सरकार अहिले अन्धो भएको छ । दिनानुदिन बढिरहेको आन्दोलन देखिरहेको छैन । सरकार बहिरो भएको छ, जनताको आवाज सुनेको छैन,’ बडुले भनेका थिए, ‘आन्दोलनलाई फगत सरकारको विरोध भनेर दमनमा सरकार उत्रिएको छ’ बडुले भनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us