
काठमाण्डु, ३ असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्न लाग्दा रोष्ट्रम घेराउ गरेपछि बैठका स्थगित भएकाे छ । संसद अवरुद्ध भएपछि सभामुख कृष्णबहादुर महराले बैठक बुधबारसम्मका लागि स्थगित गरेका हुन् ।
प्रधानमन्त्री ओली सम्बोधनका लागि गइसकेको अवस्थामा कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेका थिए । यसअघि कांग्रेसले प्रधानमन्त्री ओलीभन्दा पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेको थिए ।
प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रतिपक्षी दलका मागका कारण ढिलाइ भएको थियो ।
कांग्रेसले सभामुख कृष्णबहादुर महरालाई भेटेर संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीभन्दा पहिला बोल्न दिनुपर्ने माग गरेको थियो ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले गुठी विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा संसदीय दलका नेताले सदनमा बोल्न पाउनु पर्ने माग सभामुखलाई भेटेरै जानकारी गराएको बताइन् ।
आफ्ना नेतालाई बोल्न समय नदिने भए सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी थियो । बैठक सुरू हुनासाथ प्रधानमन्त्रीलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेर संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गरेका थिए ।