
काठमाण्डु, ३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले मंगलबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण र समसामयिक राजनीतिक विषयमा सम्बोधन गर्न लागेको जानकारी दिए ।
प्रधानमन्त्री ओली फ्रान्सलगायतका युरोपका देशहरु घुमेर गत आइतबार स्वदेश फर्किएका थिए । संसदीय परम्परामा राजकीय भ्रमण अघि र पछि संसदलाई जानकारी दिने गरिन्छ । त्यहीअनुरुप ओलीले भ्रमणबारे जानकारी गराउन लागेका हुन् ।
प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय तथा सदनमा पेश भएका विधेयकबारे पनि आज सरकारी धारणा राख्नेछन् ।
प्रधानमन्त्री ओलीले आज बस्ने संसद बैठकमा गुठी विधेयकमाथि उठेका तमाम प्रश्नहरुको जवाफ दिने अनुमान छ । त्यस्तै, मिडिया काउन्सिल विधेयकबारे पनि प्रधानमन्त्रीले धारणा राख्ने छन् ।