
काठमाण्डु, २ असार – सत्तारुढ दल नेकपाकै सांसदले गृह मन्त्रालयलाई अजिंगरको संज्ञा दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै नेकपाका सांसद गजेन्द्रबहादुर महतले अधिकार धेरै भए पनि गृह मन्त्रालयले त्यसको उपयोग गर्न नसकेको बताएका हुन् ।
उनले गृहमन्त्रालयलाई अजिंगर को संज्ञा दिए । उनले भने, ‘म त गृह मन्त्रालय कस्तो देख्छु भने ‘अजिंगर’ जस्तो । नजिक आए खाइदिने टाढा गएर शिकार नगर्ने । अहिले हाम्रो गृह मन्त्रालय यस्तो छ ।’
प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयले राम्रोसँग काम नगर्दा सर्वसाधारण सरकारले नै प्रतिबन्ध लगाएको विप्लव समूहसँग न्याय खोज्न जाने गरेको खुलासासमेत उनले गरे ।
उनले भने, ‘७७ वटै जिल्लाका सीडीओ छन् । प्रहरी प्रमुखहरु छन् । उनीहरुलाई निर्देशन दिने हो भने धेरै काम हुन्छ । भ्रष्टाचार आधा कम हुन्छ । जनताको आधा समस्या हल हुन्छ । मान्छेहरुले विप्लवकोमा ‘ओइ मेरो मुद्दा हेरि दे’ भन्न जानु पर्दैन ।’
भ्रष्टाचार नियन्त्रणमा अहिले पनि कमी नआएको भन्दै उनले जनताको र देशको पक्षमा काम गर्ने सिडिओ पठाउने व्यवस्था गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए ।
उनले भने, ‘गृह मन्त्रालयले चाह्यो भने दुई तिहाईको सरकारलाई चाँडो भन्दा चाँडो रिजल्ट दिन सक्छ । यो त न जनतासँग जोडिएको छ न जनप्रतिनिधिसँग जोडिएको छ । कसरी चलिरहेको छ ?’
उनले क्षमतावान व्यक्तिहरुलाई जिल्ला पठाउन पनि सुझाव दिए । उनले भने, ‘सीडीओ अलि छानेर पठाउनुपर्यो नि । नेकपाको प्रतिनिधि पठाउनु भन्या होइन । अलि क्यापेबल पठाउनुहोस् । त्यहा गएर खाली चिया खाएर गफ गर्ने, गाई चराउन जाने सीडीओ हामीलाई चाहिएको छैन । हामीसँगै टक्कर दिने सीडीओ चाहियो के ।’