मजदूर आन्दोलनले हायात होटल पाँच दिनदेखि बन्द

काठमाण्डु टुडे २०७६ असार २ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, २ असार – होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि सेवा प्रभावित भएको छ । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले मजदूरको माग सम्बोधनका लागि चासो नदेखाएको मजदूरले गुनासो गरेका छन् ।

मजदूरले खाइपाइ आएको सेवा सुविधा कटौती गरिएको र काममा अनावश्यक दुःख दिने गरेकाले बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताए । उनका अनुसार सन् २००६ देखि २०१८ सम्म होटल व्यवस्थापनसँग भएका सामूहिक सम्झौताको पालना नभएको, बीमा कोषको रकम हिनामिना गरिएको तथा वार्षिक ग्रेड सुविधा घटाएकोले मजदूर मर्कामा परेका छन् । अर्कोतर्फ होटलको उच्च व्यवस्थापनमा आएका पाँच भारतीयले मजदूर तथा कर्मचारीमाथि अभद्र व्यवहार गर्दै आएका छन् ।

मजदूर कर्मचारी गरी जम्मा ४०० जनशक्ति रहेको होटलमा ट्रेड युनियनमा आबद्ध सबै ३२० जनाले माग पूरा गराउन दबाबस्वरूप काम अवरोध गरेका हुन् । यता होटलका समस्याबारे व्यवस्थापन पक्षसँग कुराकानी गर्न पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुनसकेन ।

मजदूरको मागका सम्बन्धमा व्यवस्थापनसँग वार्ता भए पनि निष्कर्षमा पुग्नसकेको छैन । आन्दोलनका कारण होटलका पाहुनालाई अन्यत्र सारिएको बताइएको छ । हिजो आइतबार दुई पक्षबीच वार्ता भए पनि प्रगति नभएको र आज व्यवस्थापनसँग कुनै कुराकानी नभएको अध्यक्ष दाहालले बताए । वार्ताको माध्यमबाट समस्याको समाधान खोज्ने प्रयास भइरहेको दुवै पक्षको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us