काठमाण्डुका सांसद र मेयरलाई बोलाएर प्रधानमन्त्रीले के भने ?

काठमाण्डु टुडे २०७६ असार २ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, २ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयकबारे छलफल तीव्र पारेका छन् ।

आइतबार आठ दिने युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा गल्ती भए सरकारले सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सोही अनुसार उनले सोमबार दिउँसो काठमाण्डु उपत्यकाका नेकपा सांसद, प्रदेश सभा सदस्य, मेयर, उपमेयर र वडाध्यक्षसँग छलफल गरेका छन् ।

दिउँसो तीन बजेपछि उनीहरूसँगको छलफल सुरू भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले जानकारी दिएका छन् । छलफलमा नेकपा नेताहरू माधवकुमार नेपाल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र महासचिव बिष्णु पौडेल पनि सहभागी छन् ।

सरोकारवालासँगको छलफलपछि प्रधानमन्त्रीले आजै विधेयकबारे निर्णय लिने बताइएको छ। पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्रीमाथि विधेयक फिर्ता लिनुपर्ने चर्को दबाब छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us