
एजेन्सी । एसियाली विकास बैंक (एडीबी)ले पाकिस्तानलाई ३.४ अर्ब डलर सहयोग दिनेबारेमा निर्णय भइनसकेको जनाएपछि पाकिस्तान सरकारले झड्का महसुस गर्नुपरेको छ । यसअघि पाकिस्तान सरकारले आफूलाई एडीबीबाट सो सहयोग आउने बताएकोमा अहिले निर्णय भइनसकेको जनाइएपछि प्रधानमन्त्री इमरान खान लज्जित हुनुपर्ने अवस्था आएको हो ।
शनिबार सरकारका दुई वरिष्ठ अधिकारीले एडीबीबाट ३.४ अर्ब डलर पाकिस्तानलाई बजेटमा समर्थन गर्ने गरी दिने बताएका थिए । यसपछि प्रधानमन्त्री खानका आर्थिक मामिला सल्लाहकार डा. अब्दुल हाफीज शेखले आफनो ट्विटरमार्फत् एडीबीले सहयोग गर्ने जनाएका थिए ।
डा. शेखले एडीबीसँगको बैठकका क्रममा यो सहमति भएको जनाएका हुन् । उनले सो सहयोगबाट देशको अर्थ व्यवस्थामा सुधार हुने र स्थिरता ल्याउने कोसिस गरिने जनाएका थिए । उनले यतिसम्म भनेका थिए कि एडीबीले दुई अर्ब डलर यसै आर्थिक वर्षमा सहयोग गर्ने र त्यसले विदेशी मुद्रा भण्डारणमा मद्दत गर्ने समेत बताएका थिए ।
उनले पाकिस्तानको आर्थिक सुधारमा एडीबीले गरेको मद्दतको सराहना समेत गरेका थिए । उता इश्लामावादस्थित एडीबीको कार्यालयले भने आइतबार विदाको दिन एडीबीले भने पाकिस्तान सरकारको घोषणाबाट आफूलाई अलग गरेको छ । पाकिस्तानका मिडियामा जनाइएअनुसार एडीबीले पाकिस्तान सरकारसँग ऋणको बारेमा कुरा भएको तर कुनै निर्णय भइनसकेको जनाएको छ । पाकिस्तानमा एडीबीका निर्देशक शिओहोंग याँगले भनेका छन्, ‘यसबारेमा कुराकानी अझै भइरहेको छ ।’
यदि कुनै ऋणबारेमा निर्णय हुन्छ भने त्यसअघि बोर्ड अफ डाइरेक्टर्सको बैठक हुने एडीबीले जनाएको छ । पाकिस्तानको अखबार डनका अनुसार सरकारले हतारमा घोषणा गर्दा एडीबीलाई पनि लाजमर्दो अवस्था उत्पन्न भएको छ । सरकारले यसरी निर्णय नै नभएको कुरालाई पहिला नै सार्वजनिक गर्नु नहुने थियो भन्ने कुरा उसले अघि सारेको छ । पाकिस्तान र अन्तरराष्ट्रिय मुद्रा कोषबीच हालै ६ अर्ब डलरको ऋण लिने सहमति भएको थियो ।
३९ महिनाको आर्थिक सुधारको हिसाबले आइएमएफले पाकिस्तानलाई यो ऋण दिन लागेको हो । पाकिस्तान आर्ईएमएफसँग ६ अर्ब डलरको ऋण लिन गइरहेको छ । इमरानको सरकारले सो ऋणबापत उसले भने अनुसार मुलुकको अर्थतन्त्र अघि बढाउनुपर्नेछ । पाकिस्तानलाई आगामी १२ महिनामा ७०० अर्ब रुपैयाँको फन्डको व्यवस्था गर्नुपर्ने चुनौति रहेको छ । पाकिस्तानमा राजस्व घाटा आकाश छुने अवस्थामा छ ।