
काठमाण्डु, २ असार – उद्योगी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले विभिन्न देशमा रहेका नेपालका नियोग सक्रिय भएमा नेपालका आर्थिक क्रियाकलापको बाढी लाग्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयको लागि छुट्याइएको विनियोजन विधेयक माथिका छलफलमा भाग लिँदै सांसद चौधरीले ३९ नियोगले महिनामा एउटा मात्र आर्थिक प्रबद्र्धनको काम गरे लगानीको बाढी लाग्ने बताएका हुन् ।
‘हाम्रा ३९ नियोग विश्वभर फैलिएर बसेका छन्, उनीहरूको उद्देश्य आर्थिक प्रर्बद्धन हुनुपर्छ । तिनका नेपालस्थित नियोगका प्रमुख आफ्ना उद्देश्य पूरा गर्न नेपालका उच्च पदस्तकोमा पुग्छन् । ३९ मध्ये हरेक नियोगले महिनामा एउटा मात्र आर्थिक प्रबद्र्धनको कार्यक्रम गरेर लगानी भित्र्याउने खालको काम गर्न सके ५ सयभन्दा बढी आर्थिक क्रियाकलापको बाढी लाग्छ । मेरो आग्रह छ, यसो गर्न सकिने कुरा हो,’ सांसद चौधरीले भने, ‘अरु विदेशी राष्ट्रका राजदूतका प्रतिनिधि उद्यमी व्यासायीका साथमा घरघरमा पुग्छन् उद्योग र व्यापारको प्रवद्र्धनका लागि, उनीहरू कहाँ आएर सोध्छन् तिमीहरूलाई के ल्याइदिऔ र कसरी सहयोग गरौं । व्यापारीहरू कहिले आउला भनेर ढोका कुरेर बस्दैनन् । उनीहरूका व्यवसायीले एम्बेसीलाई आफ्नो ब्रान्च अफिस भन्ठान्छन्, उनीहरूका अपोइन्मेन्ट मिलाउने यहाँका व्यापारीलाई भेटाउने र परियोजनामा कसरी सपोर्ट गर्ने लगायत सम्पूर्ण सहयोग पुर्याउँछ । किनकि त्यसको कष्ट राज्यले तिरेको हुन्छ, राज्यको कष्टका लागि राजस्वका मार्फत व्यापारीले तिरेका हुन्छन् यो कुराको चेत हाम्रा निकायलाई हुन अत्यन्त जरुरी छ ।’
सांसद चौधरीले वातावरण भएमा लगानी आउने बताए । ‘उद्योग मन्त्रालयका अगाडि २ वटा प्रष्ट परिस्थिति उभिएको छ, एकातर्फ सिमेन्टको कारखाना र उत्पादनमा आएको परिवर्तनको उदाहरण छ । उद्योग मन्त्रालयले खानीसम्म बाटो र बत्ति पुर्यायो, उद्योगी आफैं पुगे,’ उनले भने, ‘पूँजी भन्ने कुरा पानी बगे जसरी हो । वातावरण बन्यो भने पानी बगेसरह हो ।’
चौधरीले उद्योगको हैसियत दिनसक्ने मन्त्रालयको रुपमा उद्योग मन्त्रालयलाई विकास गर्न जरुरी रहेको बताए । ‘उद्योग मन्त्रालयको आकार र औकात अर्थमन्त्रालयको महाशाखाभन्दा अलि माथि उठ्नुपर्यो, उद्योगको समस्याको समाधान दिनसक्ने हैसियत बनाउनुपर्यो,’ उनले भने, ‘विशेष आर्थिक क्षेत्रमा उद्योग जान चाहेनन्, यदि त्यहाँ उद्योग खोलेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालको वातावरण भएको भए मन्त्रीकोमा लाइन लाग्यो, किन जान चाहेनन, उद्योगले ध्यान देओस् ।’