उपेन्द्र यादव सरकारबाट बाहिरिने !

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १६:५५ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने चेतावनी दिएको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिन पुगेको पार्टीले आफ्ना माग पूरा नभए सरकारबाट बाहिरिने चेतावनी दिएको हो ।


दल दर्ताको निवेदन दिन पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायतका नेताहरु आयोग पुगेका थिए ।

अध्यक्ष भट्टराईले संविधान संशोधनलगायतका माग पूरा नभए पार्टी सरकारबाट बाहिरिने बताएका हुन् । केही समय पार्टीले पर्खिने र माग पू्रा नभए सरकारबाट बाहिरिएर आन्दोलन चर्काउने भट्टराईले चेतावनी दिए ।

उनले समाजवादी पार्टी नेपाल देशको तेस्रो शक्ति भइसकेको भन्दै आगामी दिनमा पार्टीलाई थप सशक्त ढंगले अघि बढाइने पनि बताए ।

अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको संविधानमा धेरै त्रुटीहरू रहेको उल्लेख गर्दै संविधान संशोधन गर्नुपर्ने पार्टीको माग रहेको बताए ।

‘तत्कालीन एमाले, माओवादी केन्द्र र समाजवादी फोरमबीच संविधान संशोधन गर्ने सहमति भएपछि हामी सरकारमा सहभागी भएका हौं । संविधान संशोधन हुनुपर्छ । भएन भने सरकार छोड्छौं । अहिले त्यसका लागि हामी छलफल गरिरहेका छौं,’ यादवले भने ।

एकीकृत पार्टीको झण्डा पूर्व फोरम नेपालकै हुनेछ भने चुनाव चिन्ह पछि बुझाउने छ । २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराइएको बताइएको छ ।

केन्द्रीय समितिको अध्यक्षमा यादव र संघीय परिषद्का अध्यक्षमा डा. भट्टराई रहेका छन् ।

पार्टीको वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चोम्जोङ, हेमराज राई, नवराज सुवेदी, पर्शुराम खापुङ, हिसिला यमी, युवराज कार्की, रेणुकुमार यादव, लालबाबु राउत,महासचिव रनध्वज कन्दङ्वा, गंगानारायण श्रेष्ठ, रामसहाय यादव, उपमहासचिव दानबहादुर विश्वकर्मा, डम्बर खतिवडा, प्रकाश अधिकारी, सचिवहरुमा दुर्गा शोव, पर्शुराम बस्नेत, प्रशान्त सिंह, मोहम्मद इस्तियाक राई र कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन् । दुईजना सचिव पछि थपिनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us