
काठमाण्डु, ३० जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले सरकारले निर्णयार्थ प्रस्तुत गरेको गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । विद्येयक फिर्ता नगरे आन्दोलन गर्नेपनि उनको चेतावनी छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले संसदमा प्रस्तुत उक्त विद्येयकले नेपालको परम्परागत सहकार्य र समन्वयमा अडेको धार्मिक र सांस्कृतिक संरचना भत्काउने दाबी गरेका छन् ।
अध्यक्ष जबराले उक्त विद्येयकले नेपालीहरुको धार्मिक निष्ठा र विश्वासको जगलाई खलबलाउने, सनातन धर्ममाथि घात, धार्मिक र सांस्कृतिक क्रियाकलापको राजनीतिकरण गर्ने, परम्परागत गुठीको सामूहिकताको व्यवस्थालाई सखाप पार्ने र सरकारी सहयोगबाट गुठीको सम्पत्ति भूमाफियाको स्वार्थमा परिचालन गर्ने संभावनालाई अगाडि बढाउने देखा परेको आरोप लगाए ।
अध्यक्ष जबराले भने,‘जुन रुपमा यो विद्येयक पेश भएको छ, त्यो पारित हुन गए नेपाली जनताको सांस्कृतकि विनास भई देशप्रति अपराध गरेको ठहरिनेछ ।’ उनले नेपालीको गुठीको संरचनाले नेपाली संस्कृति, कला र आस्थाको अभिव्यक्तिको रुपमा छरिएर रहेका काठमाडौंमा उपत्यका र देशभर छरिएर रहेका धार्मिक र सांस्कृतिक संस्थाहरुको व्यवस्थापनमा विकेन्द्रित संरचना कायम गर्दै आएको सुनाए ।
अध्यक्ष जबराका अनुसार यथार्थमा परम्परागत गुठी संरचनामा निहित र सामूहिकताको संस्कार मासेर गुठीको सम्पत्तिको नाङ्गो तरिकाबाट व्यवसायीकरण गर्ने र गुठीमा हजुरीया पुँजीवादलाई प्रोत्साहन गर्ने सरकारी लक्ष्य स्पष्ट छ ।
अध्यक्ष जबराले आफूहरु हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि पनि सडकमा उत्रिने जनाए । उनले भने,‘हिन्दूराष्ट्र स्थापनाको लागि यदि कांग्रेसपनि सडकमा आउँछ भने उसको नेतृत्वमा आन्दोनलमा जान हामी तयार छौं ।’