‘सेभ द स्कुल’को नाममा ठगी धन्दा

काठमाण्डु टुडे २०७६ जेठ २९ गते १७:५३ मा प्रकाशित

काठमाण्डु, २९ जेठ – ‘सेभ द स्कुल’ अभियानको नाममा ठगी गरेको आरोपमा बाराबाट प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका-२ घर भएका ३२ वर्षीय वीरेन्द्र कुमार रहेका छन् ।

‘सेभ द स्कुल’ अभियानको नाममा विभिन्न सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षिकाहरुसँग गैरकानुनी रुपमा रकम उठाउँदै हिँडेको आरोप उनलाई प्रहरीले लगाएको छ ।

वीरेन्द्रले बारा जिल्लाको कोल्हवी क्षेत्र अन्र्तगत सञ्चालनमा रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षिकाहरुसँग ‘सेभ द स्कुल’को नाममा शैक्षिक सामाग्रीहरु किनबेच गर्ने, तालिम संचालन गर्ने र वृज कोर्स गराउने जस्ता योजना सुनाइ रकम उठाउँदै ठगी गरेको जिल्ला प्रहरी कार्यालय बाराको मुद्धा शाखामा कार्यरत प्रहरी निरीक्षक चन्द्र किशोर साहले बताए ।

सेभ द नेपाल भन्ने संस्थाको दर्ता भएको देखिए पनि आफू संस्थाको कुन पदमा हो भन्ने समेत उनले खुलाउन नसकको प्रहरी निरीक्षक साहले बताए ।

वीरेन्द्रले संकलन गरेको रकम पनि संस्थाको नभइ व्यक्तिगत खातामा जम्मा गर्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले कुमारलाई बाराकै कोल्हबी नगरपालिका-३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अगाडिबाट २७ गते सोमबार पक्राउ गरेको थियो ।

उनको साथबाट रकम उठाउन प्रयोग गरिने ‘सेभ द स्कुल’ लेखिएको १ थान र ‘विद्यालय बचाउ अभियान’ लेखिएको २ थान रसिदको ठेलीसमेत फेला पारिएको प्रहरीले जनाएको छ ।

ठगी मुद्धामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us