नेपाल एयरलाइन्सका अध्यक्षमाथि लाग्यो गम्भीर आरोप

काठमाण्डु टुडे २०७६ जेठ २९ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, २९ जेठ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद देवेन्द्र राज कँडेलले नेपाल एयरलाइन्सको टिकट बुकिङ सिस्टम राख्ने काममा कार्यकारी अध्यक्ष मदन खरेलले भ्रष्टाचार भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कँडेलले २०१८ मार्चमा बुकिङ सिस्टमका लागि भएको ग्लोबल टेन्डरमा भाग नै नलिएको कम्पनीलाई कामको जिम्मेवारी दिएर खरेलले पाँच करोड अनियमितता गरेको उनले आरोप लगाएका हुन् ।

‘टेन्डरमा चार कम्पनी आएका थिए । त्यसमा नआएको कम्पनीलाई अहिले आएर जिम्मा दिइएको छ । यसमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षको संलग्नतामा रहेको छ । कारबाही गर्नुपर्दा आफ्नै अनुहार देख्न पर्ला भनेर हो कि के हो प्रधानमन्त्रीले नदेखेजसरी बस्नुभएको छ,’ उनले भने ।

एकातिर ‘प्रधानमन्त्री भ्रष्टाचार गर्दिनँ र गरेको पनि सहन्नँ’ भन्ने वाणी सबै मन्त्रालयमा राख्ने अर्कातिर आफैंले सम्हालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको निकायमा अनियमितताको चाङ लाग्दा पनि नदेखेजसरी बसेको नसुहाएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us