
काठमाण्डु, १५ जेठ– भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे खुट्टामा गोली लागेपछि पाँच घण्टा पर अस्पताल लैजादै गर्दा अत्याधिक रक्तश्रावका कारण मारिएको आवेगमा पत्रकार कृष्ण सेना मारिएको दिन बन्द रोज्दा विप्लव समूहका थप कार्यकर्ता प्राविधिक गल्तीले बर्बाद भएका छन् ।
केही महिनादेखिको घरभाडा नतिरेका अखिल कार्यकर्ता प्रज्वल शाहीले जेठभरिमा भाडा तिर्ने र कोठा पनि छाड्ने बताएका थिए । बिहान घरबेटीसँग यस्तो सल्लाहपछि दिउँसो कतै निस्किएनन् । बरु एकैछिनमा केही साथी जम्मा भए । विद्यार्थीको कोठामा प्रायः ढोका लाग्ने नै भयो । तर, त्यही कोठामा दिउँसो टोलै थर्थराउने गरी बम विस्फोट भयो । जेठभरिमा कोठा छाड्छु भन्ने प्रज्वलले आफै.ले बनाएको बम लागेर कोठाभित्रै संसार त्यागे । ओम अस्पतालअगाडि सैलुन निकै चलेको थियो । आम्दानीले आफू मात्र होइन, साथीहरु पनि पालिने अवस्था थियो । तर, पार्टीले भन्यो, ‘अब पेशा पनि रणनीतिक तवरले चलाउनुप-यो ।’
त्यही निर्देशन पाएर जीवकुमार ठाकुर ६ मिहनादेखि सुकेधाराको भित्री सडक, ढलाने पुलनजिकैको टहरामा सरे । सैलुन राखे । ग्राहक उति धेरै आउँदैन थिए । तर, उनी दिनैभर व्यवस्त हुन्थे । अघिल्लै दिन साँझ चुनिखेलका सुरेन्द्र महर्जनसहित आठ–दशजना मान्छे पुगे । बाहिर सुलेन खुल्लै थियो । तर, उनीहरु भित्र व्यस्त भए । कपाल काट्ने हजामबारे कसैले केही शंका वा चासो राख्ने कुरा पनि भएन । तर, ती ठाकुर सशस्त्र द्वन्द्वकालदेखिकै माओवादी, विभाजनमा वैद्यतिर गएर फेरि विप्लवमा लागेका । त्यहाँ पनि दिउँसो बनाउँदा बनाउँदैको बम पड्कियो । सैलुन अगाडि अण्डा झैं टाउको फुटेर गिदी छिरल्लिएका ठाकुरले त्यहीं प्राण त्यागे । बूढानिलकण्ठसँगै जोडिएको चुनिखेलमा दीपेन्द्र विकको कोठा थियो । तर, उनी कहिलेकाहीं मात्र पुग्थे । पत्नि र दुई बच्चा त्यहीं बस्छन् । अघिल्लो दिन साँझ कोठाबाट निस्कनुअघि चोकमा एक जनाले सोधे, ‘के काम गर्नुहुन्छ ?’ उनले भने, ‘पाटनमा एनजिओ चलाउँछु ।’ तर, भोलिपल्ट दिउँसो सुकेधारामा विस्फोट भएको बममा परेर घाइते भए । उपचारको क्रममा अत्याधिक रक्तश्राव भएर उनले पनि प्राण त्याग गरे ।
दीपेन्द्रसँगै अघिल्लो साँझदेखि सुकेधारास्थित ठाकुरको सैलुनसँगै कोठामा बसेका हाँडीगाउँका सुरेन्द्र महर्जनका दुवै खुट्टा बमले खाएको छ । अर्का घाइते हरि खड्काको एउटा खुट्टा कामै नलाग्ने अवस्थामा छ । दीपेन्द्र, सुरेन्द्र र हरि यी तीनैजनाको डेरा चुनखेलमा छ । उनीहरु ०७० सालदेखि त्यहाँ बसेका हुन् । जनआस्था साप्ताहिकबाट