
काठमाण्डु, १४ जेठ – काठमाण्डुको कागेश्वरी–मनहरा नगरपालिका–१, गागलफेदीमा चितुवा मृत फेला परेको छ । नजिकैको ईश्वरी सामूदायिक वनबाट आएको चितुवा बिजुलीको ट्रान्सफर्मरमा मृत फेला परेको हो ।
गोकर्ण सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत अरूण गुप्ताले चितुवा करेन्ट लागेर मरेको स्पष्ट पारेका छन् ।
‘ट्रान्सफर्मर छेऊको चराको गुँडमा जान लाग्दा चितुवा हाइभोल्टेजको ट्रान्सफर्मरमा परेछ, पहिलो पटक करेन्ट लागेर चितुवा मरेको देखें,’ गुप्ताले भने, ‘एक वर्ष पनि नपुगेको पोथी चितुवा रैछ ।’
गुप्ताको टोलीले मृत चितुवालाई ल्याएर गोकर्णको जंगलमा गाडेको छ ।
सहायक वन अधिकृत गुप्ताले ट्रान्सफर्मरको फेदमा माटो भरेकाले चितुवा माथि चढेको बताए । जमिनको सतहबाट साढे २ देखि तीन मिटरमाथि हुनु पर्ने ट्रान्सफर्मर जगमा माटो हालेपछि सतह र ट्रान्सफर्मरको दूरी १ मिटरभन्दा कम भएको थियो ।