जेलमा बसेका साथीलाई लागुऔषध उपहार !

काठमाण्डु टुडे २०७६ जेठ १४ गते १६:५१ मा प्रकाशित

काठमाण्डु, १४ जेठ – हिरासतमा रहेका साथीलाई भेट्न गएका दुई जना पक्राउ परेका छन् । हिरासतमा रहेका साथीलाई चाउचाउको पोकामा लुकाएर भित्र्याउनेक्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

लागुऔषध मुद्दामा हिरासतमा रहेका रहेका कालिकोटका नवीन शाहीलाई भेट्न गएका ईमाडोल बस्ने पुजन बम ठकुरी र झापा दमकका धर्मेन्द्र लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

नवीन शाहीलाई महानगरीय प्रहरी प्रभाग बलम्बुको हिरासतमा ललितपुर सोमबार भेट्न पुगेका थिए ।

नवीनलाई दिन भनि लगेको दुई वटा चाउचाउको पोकाभित्र उनीहरूले चलाखी गरी लागुऔषध लुकाएर लगेका प्रहरीले जनाएको छ । लागुऔषध लुकाउन पुजन र धर्मेन्द्रले चाउचाउको पोका फोरेर लागुऔषध लुकाएर फेरि सुपर ग्लुले टालेका थिए ।

प्रहरीले शंका लागेर खोलेर हेर्दा १५ वटा नाइट्राभेट ट्याब्लेट, दुई वटा चुरोट र तीन ग्राम कालो चरेश फेला परेको थियो । उनीहरू विरुद्ध महानगरीय प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us