बल्खु–दक्षिणकाली–हेटौंडा सडक बन्द

काठमाण्डु टुडे २०७६ जेठ १४ गते १६:१९ मा प्रकाशित

काठमाण्डु, १४ जेठ – सडक भत्काएर चार वर्षसम्म पनि पिच नहुँदा धुलोले पीडित बनेका स्थानीयले बल्खु–हेटौंडा सडकको दक्षिणकाली खण्ड अवरुद्ध पारेका छन् । अवरोधका कारणा बल्खु–हेटौंडा रुटमा सञ्चालन हुने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार मंगलबार बिहानैदेखि स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले दक्षिणकाली नगरपालिका–८ स्थित शीतल चोकमा अवरोध खडा गरेका छन् ।

बल्खुदेखि फर्पिङसम्मको ९.५ किलोमिटर सडक चौडा गर्ने र सर्फेस ड्रेसिङ पिच गर्ने ठेक्का भारतीय कम्पनी सीमान्चल र गौरी पार्वती–सौनाला खिम्ती जेभीले पाएका छन् । सन् २०१५ ठेक्का लिएको एक वर्षपछि मात्र कम्पनी काममा फर्किएको थियो ।

गत आर्थिक वर्षको असार महिनामा हतार हतार सडक पिच गर्न खोज्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको थियो ।

यो सडक निर्माणको कूल लागत २३ करोड ८७ लाख रुपैयाँ रहेको थियो । सडक आयोजनाका कर्मचारीसँगको मिलेमतोमा ठेकेदार कम्पनीले लापरवाही गर्दा सो सडक भत्काएको चार वर्षसम्म पनि पूरा हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us