धार्मिक स्वतन्त्रताको पक्षमा उभिए शशांक कोइराला

काठमाण्डु टुडे २०७६ जेठ १२ गते ११:५८ मा प्रकाशित

पर्वत, १२ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्म सापेक्ष वा निरपेक्ष नभई स्वतन्त्र हुने बताएका छन् ।

विश्वकै अग्लो शिव र पार्वतीको मूर्ति निर्माण गर्ने, सिसमहल, ज्योतिर्लिङ स्थापना र धर्मशाला बनाउने उद्देश्यले पर्वतमा जेठ १ गतेबाट सञ्चालित कोटीहोम तथा सामूहिक तुला दान महायज्ञको समापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले धर्म स्वतन्त्रताको कुरामा आफुहरु लागि पर्दै आएको बताए ।

उनले भने, ‘राज्यको न धर्म सापेक्ष हुन्छ न निरपेक्ष, राज्य धर्मका विषयमा स्वतन्त्र हुन्छ ।’

उनले कांग्रेसको झन्डामा रहेका चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता भएको भन्दै कांग्रेसको सिद्धान्त नै धार्मिक स्वतन्त्रता भएको स्पष्ट पारे । महायज्ञ मूल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले हिमालय पर्वतकी छोरी तथा महादेवकी पत्नी पार्वतीको जन्म पर्वतको पाङमा नै भएको बताए ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद पदम गिरी, नेपाली कांग्रेसका पूर्वमन्त्री दीपक गिरी, पण्डित ईश्वरकृष्ण भुर्तेल, कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशी, कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायतको पनि उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us