मिडिया काउन्सिल विधेयक फिर्ता लिन सम्पादकहरुको माग

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १७:५० मा प्रकाशित

काठमाण्डु, ९ जेठ – सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै सम्पादकहरूले फिर्ता लिन माग गरेका छन् ।

छापा, अनलाइन र टेलिभिजन सञ्चार माध्यमका सम्पादकहरूको बिहीबार बिहान बसेको बैठकले सरकारले अहिले संसदमा पेश गरेको प्रेस सम्बन्धी विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म–भावना विपरीत रहेको ठहर गरेको हो ।

बैठकपछि सम्पादहरूले प्रेस वक्तव्य जारी गरि उक्त विधेयक फिर्ता लिन माग गरेका हुन् ।

‘सरोकारवालाहरूसँग कुनै छलफल नगरी, प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो बिषय सम्बोधन गर्न हामी सम्पादकहरु सरकारसँग माग गर्दछौं’, वक्तव्य भनिएको छ ।

पत्रकारिता क्षेत्रका कतिपय विकृत र असंयमित अभ्यासप्रति सचेत रहेको जनाउँदै सम्पादकहरूले वक्तव्यमा भनेका छन्, ‘त्यस्ता विकृति सम्बोधन गर्ने विधि विकासको आवश्यकताबारे हामी उत्तिकै प्रष्ट छौं ।’

सम्पादकहरू अखिलेश उपाध्याय, अनुप काफ्ले, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कुन्द दीक्षित, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभूषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, युवराज घिमिरे, राजेन्द्र दाहाल, शिव गाउँले, सुधीर शर्मा, सुवास घिमिरे र हरिबहादुर थापाले बिहिबार वक्तव्य जारी गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us