जेठ १३ गते विप्लवको नेपाल बन्द

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १२:३० मा प्रकाशित

काठमाण्डु, ९ जेठ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई सरकारले हत्या गरेको भन्दै नेपाल बन्दको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीको सरकारले देशलाई गृहयुद्धमा धकेल्न खोजेको आरोप लगाउँदै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सांगठानिक कामको सिलसिलामा गत मंगलवार भोजपुर र खोटाङको सीमानामा केपी ओली सरकारको ठाडो आदेशमा हाम्रो युवा संगठनका नेता घिमिरेलाई सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तका नाममा हत्या गरेको छ । केपी–पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध रूपमा गृहयुद्धमा धकेल्ने कुचेष्टा गरिराखेको छ ।’

आफ्नो पार्टीले प्रतिरोध गर्नुको कुनै विकल्प नरहेको भन्दै विप्लवले भनेका छन्, ‘उक्त कार्यक्रमलाई उद्योग व्यवसायी, यातायातकर्मी, शिक्षण संस्थान लगायतका सबैले एक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न पनि अपिल गरिन्छ ।’

विप्लवले जारी गरेको विज्ञप्तिमा जेठ १० र ११ गते भण्डाफोर र कोणसभा, १२ गते देशव्यापी मसाल जुलुस र १३ गते नेपाल बन्दको कार्यक्रम घोषणा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us