
मकवानपुर, १४ असार– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ सान्नाटारमा रगताम्मे अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ ।
गस्तीमा रहेको प्रहरी टोलीले शनिबार बिहान गम्भीर अवस्थामा फेला पारेर ती पुरुषलाई अस्पताल लगेको थियो ।
सडकमा रगताम्मे अवस्थामा लडिरहेका ती पुरुषलाई उद्धार गरेर हेटौंडा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार ती पुरुषको टाउकोमा गम्भीर चोट लागेको थियो । मृतकको पहिचान खुल्न नसकेको र उनको साथमा कुनै परिचय खुल्ने कागजात फेला नपरेको प्रहरीले जनाएको छ ।
ती पुरुष सवारी साधनको ठक्करबाट घाइते भएको हुनसक्ने अनुमान गरिएको डिएसपी अर्यालले बताए । प्रहरीले अटनाको अनुसन्धानका लागि आसपास क्षेत्रको सीसीटीभी फुटेज संकलन गरिरहेको छ ।