बैतडीमा एकैघरका तीन जनाको जलेर ज्यान गयो

काठमाण्डु टुडे २०७६ जेठ ९ गते ९:४४ मा प्रकाशित

बैतडी, ९ जेठ – पुर्चौडी नगरपालिका–५ कुवाकोट स्थायी घर भई पुर्चौडी नगरपालिका –७ बसपार्कमा टहरा बनाएर बस्दै आएका एकैघरका तीन जनाको जलेर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा अन्दाजी ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती वृन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका प्रहरीले जनाएको छ ।

बुधबार राति खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो सल्केर आगलागी हुँदा लुहार परिवारको ज्यान गएको हो ।

बुधबार राति पौने १० बजेतिर आगो लागेको तर लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए । प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलिसकेका थिए ।

मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ वर्ष यता बसपार्कमा टहरो बनाएर बस्दै आएका पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले बताए ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर वोगटीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटिएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us