प्रचण्डको आदेश मान्छु, सह–संयाेजकमै बस्न तयार छुः रञ्जित तामाङ

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १४:५० मा प्रकाशित

काठमाण्डु, ८ जेठ – नेकपाले शक्तिशाली जनवर्गीय संगठन अनेरास्ववियूको सह–संयोजकको जिम्मेवारी दिएपछि असन्तुष्ट रहेका तत्कालीन अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले पार्टीको निर्णय र निर्देशन मान्ने बताएका छन् ।

बुधबार विहान गृह जिल्ला झापामा प्रेस संगठन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तामाङले आफूमाथि पटक–पटक अन्याय हुने गरेको भए पनि पार्टीको निर्णय र निर्देशन मान्दै आएको र अब पनि मान्ने बताए ।

नेकपाको जनवर्गीय संगठनहरुको एकता घोषणा गर्दा अन्य संगठनमा पूर्व अध्यक्षहरुलाई संयोजक र सहसंयोजकको जिम्मेवारी दिंदा अनेरास्ववियूमा भने तत्कालीन अनेरास्ववियुका महासचिव ऐन महरलाई संयोजकको जिम्मेवारी दिएर तत्कालीन अखिल (क्रान्तिकारी)का अध्यक्ष तामाङलाई सह–संयोजकको जिम्मेवारी दिएपछि तामाङसहित क्रान्तिकारीका नेताहरु असन्तुष्ट बनेका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङलाई पार्टीको निर्णय स्वीकार गर्न आग्रह गरेपछि उनी जिम्मेवारी लिन तयार भएका हुन् ।

‘मलाई ठूलो अन्याय भयो । यो मलाई मात्र होइन सबैलाई महसुस भएको छ,’ तामाङले भने, ‘तर, मैले विगतमा पार्टीको, मूलतः प्रचण्डको आदेश मान्दै आएको हुँ । अहिले पनि प्रचण्डको आदेश मान्छु, पार्टीको निर्णय र निर्देशन मान्छु ।’ तर, उनले एकवर्षभित्र एकताका महाधिवेशन हुनुपर्ने शर्त राखेका छन् ।

तामाङलाई आफूलाई फरक जिम्मेवारी दिए सह–संयोजकको जिम्मेवारी छाड्ने समेत बताएका छन् । ‘एक संगठनको अध्यक्ष संयोजक बन्ने र अर्को समान संगठनको अध्यक्ष सो भन्दा फरक पदमा रहने भन्ने कुरोले अप्ठ्यारो बनाएको हो,’ पत्रकार सम्मेलनमा उनले भने, ‘मलाई फरक जिम्मेवारी दिंदा राम्रो हुन्छ ।’

तामाङले आफूले आफ्नो परिवारभन्दा माथि पार्टी अध्यक्ष प्रचण्डलाई मान्दै आएको बताए । ‘मैले मेरो परिवारभन्दा माथि अध्यक्ष प्रचण्डलाई मान्दै आएँ । उहाँकै आदेश मानेको थिएँ । तर ममाथि अन्याय भयो’, उनले भने, ‘तर म फेरी पनि आदेश मान्न तयार छु ।’

पार्टी नेतृत्वले जिम्मेवारी तोक्दै गर्दा तामाङले त्यसप्रति आपत्ति जनाउदै गृह जिल्ला पुगेर आफ्नो आधिकारिक धारणा राख्ने बताएका थिए। पार्टी एकता संगठनात्मक मात्र नभई भावनात्मक पनि हुनपर्ने भन्दै उनले नेकपामा त्यसको अभाव भएको जिकिर गरे।

‘तत्काललाई नेतृत्वले जे जिम्मेवारी दिएको छ त्यसलाई आत्मसाथ गर्छु तर यो अन्याय भएको विषय हो भन्ने सबैलाई जानकारी दिएको छु मलाई लाग्छ कही न कही मलाई न्याय हुन्छ ’, तामाङले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us