ट्याक्सीको भाडा बढ्याे

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १२:४६ मा प्रकाशित

काठमाण्डु ८ वैशाख – नेपाल गुणस्तर तथा नापतौल विभागले ६ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले २०७५ असोज ७ मा सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मंसिर पहिलो सातादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिए । उनले भने, ‘मिटर र प्रिन्टर मेसिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ ।’

विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन थालेपछि सुरुमा १४ र एक किलोमिटर गुडिसकेपछि ५० रुपैयाँ उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि शुरुमा १५ र एक किलोमिटर गुडेपछि ५३ रुपैयाँ उठ्नेछ ।

यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ । सरकारले ट्याक्सीमा भाडा समायोजन गरेपछि केही ट्याक्सी चालक भने अझै पनि मिटरमा जान मान्दैनन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०७५ मंसिररदेखि हालसम्म मिटरमा जान नमान्ने तीन हजार ट्याक्सीलाई कारवाही गरेको छ । महाशाखाका प्रमुख वसन्तकुमार पन्त ट्राफिक प्रहरीमा ट्याक्सी चालक मिटरमा जान नमान्ने उजुरीका आधारमा कारवाही गर्दै आएको बताउँछन् । महाशाखाले दैनिक ४० ट्राफिक प्रहरीलाई सादा पोशाकमा खटाउँदै आएको छ ।

नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत पुगेको टिप्पणी गरे ।

उनले भने, ‘समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ ।’ यातायात व्यवस्था विभागका अनुसार हाल काठमाण्डु उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us