जैविक विविधता दिवसमा वनमन्त्रीले रोपे चाँपको बोट

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– अन्तर्राष्ट्रिय जैविक विविधतादिवस आज (बुधबार) नेपालमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाण्डुको पेप्सीकोलास्थित मनोहरा खोलाकिनारमा वृक्षारोपण कार्यक्रम आयोजना ग¥यो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँपको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरे ।

त्यस क्रममा मन्त्रालयका सचिव विश्वनाथ ओली, विभिन्न महाशाखाका प्रमुख, संरक्षणविद तथा स्थानीयले पनि वृक्षरोपण गरे ।

कार्यक्रममा मन्त्री बस्नेतले मानवजीवनको अस्तित्वका लागि जैविक विविधताको उच्च महत्व रहेको चर्चा गर्दै सरकार, सरोकारवाला र आमनागरिकको सहभागितामा त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । सरकार एक्लैले जैविकविविधता संरक्षण गर्न नसक्ने भन्दै उनले आम नागरिकको सहभागिताका लागि अपिल गरे ।

‘जैविकविविधताको संरक्षण सरकार एक्लैले गरेर सम्भव छैन’, मन्त्री बस्नेतले भने, ‘सरकारले नेतृत्व लिन्छ । स्थानीय समुदाय र निजी क्षेत्रले सरकारलाई सघाउनुपर्छ ।’

सरकारले जैविक विविधता संरक्षणलाई आफ्नो प्राथमिक कार्यसूचीमा राखेको भन्दै मन्त्री बस्नेतले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा पर्याप्त ध्यान दिइएको जानकारी दिए । दिवसको यो वर्षको नारा ‘खाद्यान्न र स्वस्थ जीवनका लागि जैविक विविधता’ भन्ने रहेको छ ।

सन् १९९२ मे २२ का दिन ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ लाई जैविक विविधता दिवसका रुपमा संसारभर मनाइँदै आइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us