
काठमाण्डु, ८ जेठ– अमेरिकी राजदूत -याण्डी बेरीले सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ प्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै राजदूत बेरीले फेसबुक पेजमा भिडियो सन्देश प्रसार गरेका थिए ।
त्यसबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया उत्पन्न भएपछि परराष्ट्र सचिव शंकरदास बैरागीले त्यसबारे मन्त्रालयको ध्यानाकर्षण भएको बताए । ‘यसरी स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न मिल्दैन’, उनले भने । युवालाई लक्षित गरेर राजदूतले अमेरिकी व्यवस्थाबारे सूचना दिन खोजेको भए पनि परराष्ट्रले जानकारी नगराइएको सचिव वैरागीले जनाए । उनले यसबारे मन्त्रालयले सोधखोज गर्ने बताए ।
बेरीले आफ्नो दूतावासले सामाजिक सञ्जालमा जोडिएका ४० लाख फलोअरसँग प्रत्यक्ष भेटघाट गर्न असम्भव भएकाले उनीहरुका जिज्ञाशा र सरोकार सम्बोधन गर्न गफगाफमा आउन लागेको भिडियो सन्देश दिएका थिए । परराष्ट्रसँग अनुमति नलिएको भन्नेबारे प्रश्न गर्दा एन्डी डे अरमेन्टले भनिन्, ‘पब्लिक डिप्लोमेसी भनेको जनतासँग संवाद गर्नु हो । राजदूतले आफूलाई लागेको जवाफ दिनुहुनेछ । सूचना दिनुहुनेछ । कूटनीति भनेको यही हो ।’ कान्तिपुर दैनिकबाट