
नवलपरासी, ७ जेठ– हतियारसहित नेपाल पसेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पश्चिम नवलपरासीस्थित दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय सन्धि र सम्झौताविपरीत अस्थायी पोस्ट निर्माण गरेको छ ।
एसएसबीले सुस्ता गाउँपालिका–५ बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रमा पोस्ट निर्माण गरेको हो । नेपाली भूमि मिचेर बसेका एसएसबीले हतियारसहित चेकजाँच गर्दा स्थानीय आतंकित बनेका छन् । मंगलबार सीमा क्षेत्र निरीक्षणमा गएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट, सशस्त्र प्रहरी उपरीक्षक गहार्धन राईसहितको टोलीले एसएसबीले दशगजामा पोस्ट निर्माण गरेको भेटेको हो । प्रजिअ लामिछानेले आफ्ना भारतीय समकक्षी (डिएम) सँग बैठक बसेर भारतीय सेना सीमा क्षेत्रबाट हटाउन पहल गरिने बताए । भारतले सुस्तामा यसअघि पनि नेपाली भूमि अतिक्रमण गर्दै आएको छ ।