पाँचथर हत्याकाण्डः रगत लतपतिएको खुकुरी भेटियो

काठमाण्डु टुडे २०७६ जेठ ७ गते १६:२६ मा प्रकाशित

काठमाण्डु, ७ जेठ – पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नौ जनाको सामुहिक हत्यामा संलग्नताको शंका गरिएका मनबहादुर माखिम झुण्डिएको स्थान नजिक रगत लागेको खुकुरी र कपडा फेला परेको छ ।

माखिम रुखमा पासो लगाई झुण्डिएर मृत फेला परेको स्थान आसपास खोजतलास गर्दा हतियार र कपडा फेला परेको प्रहरीले जनाएको छ ।

झुण्डिएको स्थानदेखि केही टाढा खुकुरी र कपडा पोको पारेर भिरमा झारीएको अवस्थामा फेला परेको हो । भिरमा फ्यालिएको खुकुरी र कपडामा रगत लागेको छ । हत्याका बेला लगाएको कपडा फेरेर फ्यालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

माखिम हत्या भएका परिवारका कान्छा ज्वाई हुन् । घटनास्थल प्रकृती, स्थानीयको भनाईका आधारमा माखिमले हत्या गरेको हुन सक्ने प्रहरीले शंका गरेको थियो । माखिम झुण्डिएको स्थान नजिक रगत लागेको खुकुरी र कपडा फेला पर्नुले उनको संलग्नता हुन सक्ने संभावना बलियो भएको प्रहरी अधिकारीले बताएका छन् ।

घटनामा भागेर बचेकी १२ वर्षीया सीता खाजुमले मास्क लगाएको एकजनालाई मात्र देखेको बताएकी थिइन् ।

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गए राति धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us