सिरियाको इडलिबमा एक महिनामा एक सय ६७ सर्वसाधारण मारिए

काठमाण्डु टुडे २०७६ जेठ ७ गते १४:०२ मा प्रकाशित

सिरिया, ७ जेठ – गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको हत्या भएको छ । इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास छ ।

गत आइतबार मात्र पनि रुसको नेतृत्वमा सिरियाली सैनिकले गरेको हवाई आक्रमणमा कम्तीका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको थियो ।

हवाई आक्रमणका कारण पाँच बालबालिकाको ज्यान गएको बेलायतआवद्ध मानवअधिकार समूह सिरियाली अब्जरभेटरी फर ह्युम्यान राइट्सले पनि पुष्टी गरेको छ । रुसले इड्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि गत आइतबार पुनः हवाई आक्रमण भएको थियो ।

इडलिब प्रान्तको कफ्रान्बेल शहरको एक अस्पतालनजिक रुसको नेतृत्वमा हवाई आक्रमण भएको अब्जरभेटरीले जानकारी दिएको छ ।

सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा अल–कायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूह हाबी हुँदै गएका छन् ।

सिरियामा जारी द्वन्द्वका कारण सन् २०११ देखि हालसम्म तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । लाखौँ घाइते भएका छन् । बीसौं लाख मानिस सिरियाभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us