
काठमाण्डु, ७ जेठ – राष्ट्रिय जनता पार्टी (राजपा) ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र संविधान संशोधन गर्नुपर्ने माग राखेको छ ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमा बोल्दै राजपाका नेता महेन्द्रराय यादवले २०५२ सालमा तत्कालीन माओवादीले सरकारलाई पेश गरेको ४१ बुँदे माग स्मरण गर्न अनुरोध गरे ।
‘जसरी सरकारले माओवादीको त्यतिबेलाको माग पूरा नगर्दा देशमा जनयुद्ध भयो, त्यसलाई स्मरण गर्दै सरकारले हाम्रो संख्या सानो नठानोस्,’ यादवले भने, ‘हाम्रा यी मागहरू सरकारले अविलम्ब पूरा गरोस् ।’
सभामुखले सरकारलाई रुलिङ नगरेको भन्दै यादवले आफ्नो धैर्यताको बाँध टुट्ने बताए । ‘सरकारले हाम्रो कुरालाई बेवास्ता गर्यो भने हामीले संसद अवरुद्ध गर्नुपर्ने हुन्छ,’ उनले भने ।
यादवले सरकारसँग लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नुको कारण पनि माग गरेका छन् । ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नुको कारण के हो ?’ यादवले भने, ‘सरकारले बारम्बार हाम्रो मागलाई बेवास्ता गरिरहेको छ । हामीलाई दिएको आश्वासन सरकारले पूरा गरेको छैन ।’
विगतमा राजपा, तत्कालीन संघीय समाजवादी फोरम, तत्कालीन माओवादी केन्द्र र कांग्रेसले संविधान संशोधन गर्नुपर्छ भनेर मत राखेको स्मरण गर्दै भने, ‘संशोधन गर्न सरकारलाई केले रोकेको छ ? यसमा सरकारको स्पष्ट धारणा आउनुपर्छ ।’