
काठमाण्डु, ७ जेठ – पाँचथर हत्याकाण्डको विषयले संसदमा प्रवेश पाएको छ । मंगलवार बसेको संघीय संसद्को बैठकको शून्य समयमा सो हत्याकाण्डको विषयमा गृहमन्त्रीको जवाफ माग गरिएको हो ।
शून्य समयमा बोल्दै कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ मा सोमवार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको विषयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को जवाफ आउनुपर्ने माग राखेका थिए । तर, बोल्दा बोल्दै माइक काटियो
कँडेलले गृहमन्त्रीको जवाफ आउनुपर्ने माग गरेलगत्तै अकस्मात माइक काटियो । त्यसपछि सभामुख कृष्णबहादुर महराले अर्का वक्ता नमिताकुमारी चौधरीको नाम लिए । त्यसपछि कँडेलले आफ्नो कुरा नसकिएको र १५–२० सेकेन्डमै माइक काटिएको भन्दै उभिइरहे ।
त्यसपछि सभामुखले प्राविधिक कारणवश माइक काटिएको र पछि बोल्न समय दिने भन्दै शून्य समय सूचारू गरेका थिए ।