
काठमाण्डु, ७ जेठ – पाँचथरको मिक्लाजुङ्माको घटनामा एक जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले प्रारम्भिक अनुसन्धानबाट एक जनाकाे संलग्नता भएकाे बताए ।
तर, प्रहरीले एक जनाकै संलग्नता रहेको भनेर ढुक्क नहुने र थप अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले घटनाबाट भागेर बाँचेकी बालिका र स्थानीयसँगको सोधपुछकाआधारमा एक जनाको संलग्नता रहेको बताएको छ ।
उनीहरूसँग थप साेधपुछकाे काम भइरहेकाे छ । बालिकाले प्रहरीलाई दिएको जानकारीअनुसार नकाबधारीले मुखुण्डो लगाएका थिए । राति सुतिरहेको परिवारलाई बोलाएर ढोका खोल्न लगायो अनि एक्कासी आक्रमण गरेको बालिकाले प्रहरीलाई बताएकी छन् ।
उनले ढोका खोल्ने बित्तिकै परिवारका सदस्यमाथि अन्धाअुन्ध आक्रमण गरेको तर आफू भने भागेर बाँच्न सफल भएको बताएकी छन् । आज राति दुई परिवारका ९ जनाको विभत्व हत्या भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।
घटनाको विषयमा थप अनुसन्धान गर्नका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ ।
घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको छ । सामुहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीको टोली पनि जाँदैछ ।
प्रहरीेले घटना संलग्नलाई पक्राउ गर्न विशेष सतर्ककता अपनाएको छ । घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा चेकिङ बढाएको छ ।
मंगलबार बिहान मिल्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ज्वाइँ ससुराको परिवारका ९ जनाको शव भेटिएको थियो । करिब दुई किलोमिटर वरपर घर रहेका ज्वाइँ धानराज शेर्माको घरमा ५ जना र ससुरा वमबहादुर फियाकको घरमा ४ जनाको विभत्स हत्या भएको हो ।