
रोल्पा, ६ जेठ – ‘दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियौँ ।’
‘मनले मन पराएर विवाह गरियो । अहिले आएर धोका होला भन्ने के थाहा’, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भनिन् ।
सोही नगरपालिका–२ निवासी हुकुम कुँवरसँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कुवरले जीवनमा धोका खाइएला भन्ने कहिल्यै सोचेकी थिइनन्। ‘हामीले एक अर्कालाई औधि माया गर्दथ्यौँ, सबथोक उहाँलाई सुम्पेँ र विश्वास गरेँ । विवाह गरेको कुनै प्रमाणसमेत बनाइन’, कवरले भावुक हुँदै भनिन् ।
विवाह गरेको चार महीनामै उनीहरुको विछोड भयो। ‘श्रीमान म कमाउन जान्छु भन्थे, अहिले माडी गाउँपालिका–३ तालाबाङ निवासी लालकुमारी घर्तीसँग भागेका छन् रे भन्ने सुनेको छु’, रुँदै कुँवरले भनिन् । श्रीमान् बेपत्ता भएपछि अहिले उनी घर न घाटको भएकी छन् ।
‘आठ महीनासम्म आउँला भन्दै उसैको बाटो हेर्दै सासूसँग घरमै बसेँ । अब त आउँला भन्ने आशा नै मरिसक्यो’, निरास बन्दै उनले भनिन् । श्रीमान्ले गरेको अन्यायको विरुद्ध न्याय खोज्न विभिन्न सङ्घ संस्थामा भौतारिरहेकी कुवरसँग वैवाहिक बन्धनमा बाँधिएको कुनै कानूनी आधार पनि छैन ।
२ नम्बर वडाध्यक्ष खिमबहादुर घर्तीले भने उनीहरुबीच विवाह भएको सबैलाई थाहा भएकाले न्यायका लागि समस्या नहुँने बताए । ‘गाउँले नै सबैभन्दा ठूला प्रमाण हुन् । ‘मैले साक्षी सर्जिमिनको रुपमा सिफारिस गरेको छु, यो नै व्यावहारिकतामा ठूलो प्रमाण हो,’ वडाध्यक्ष घर्तीले भने ।
सानै उमेरमा लहलहैमा विवाह गर्ने, पछि धोका खाइएला भन्ने हेक्कासमेत नराख्दा रोल्पामा यस्ता खालका घटना थुप्रै घट्ने गरेका छन् । कानूनीरुपमा विवाह प्रमाणित हुनका लागि विवाह दर्ता बलियो आधार हो ।
विवाह गरेको ३५ दिनभित्र वडा कार्यालयमा विवाह दर्ता गर्न गए निःशुल्क दर्ता गरिन्छ । विवाहपछिको यो अनिवार्य प्रक्रियाजस्तै हो ।
चालू आर्थिक वर्ष २०७५–७६ मा हालसम्म ८१ वटा घरेलु हिंसाका घटना महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका छन् । रासस