
काठमाण्डु, ५ जेठ – राष्ट्रिय जनता पार्टी(राजपा)को केन्द्रीय संयोजकमा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा तोकिएको छ । पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रीय प्रणाली अनुसार भोलि सोमबारदेखि लागु हुने गरी उनी केन्द्रीय संयोजक तोकिएका हुन् ।
बिहीवार पार्टी कार्यालय बबरमहलमा संयोजक शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय अध्यक्ष मण्डलको बैठक उक्त निर्णय गरेको राजपाले जनाएको छ । बैठकले पार्टीको विधानसमेत संशोधन गर्ने निर्णय गरेको छ ।
विभिन्न ६ वटा मधेशवादी पार्टी मिलेर बनेको राजपाले पूर्व घटकहरुका अध्यक्षको अध्यक्ष मण्डल गठन गरेको थियो । त्यसको संयोजक पालैपालो अध्यक्ष मण्डलमा भएका नेताहरुले गर्दै आएका छन् ।
पछिल्लो दुई महिना पार्टीको अध्यक्ष मण्डलको संयोजक शरदसिँह भण्डारी छन् । उनीअघि महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवले संयोजकको जिम्मेवारी सम्हालिसकेका छन् ।
बैठकपछि संयोजक भण्डारीले जारी गरेको विज्ञप्ती अनुसार, पार्टी विधानको धारा ३१ (१०) मा पार्टीको महाधिवेशन २ वर्ष भित्र गरिनेछ भनिएकोमा समयावधि बढाएर ३ वर्षभित्र गर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, विधानको धारा ७(२) (क) मा वडा समितिका निर्वाचित सदस्य, पदाधिकारी तथा वडाबाट निर्वाचित अन्य ‘डेलिगेट्स’ हरुले सक्रिय सदस्यता लिनु पर्ने व्यवस्था नरहेकोमा अब वडा तहबाट निर्वाचित सदस्य, पदाधिकारी तथा ‘डेलिगेट्स’ हरुले निर्वाचित हुना साथ पद तथा गोपनीयताको सपथ लिनु अघि सक्रिय सदस्यताको फारम भर्न अनिवार्य गरिएको छ ।
धारा १० (ङ) मा यस अघि कुनै पनि तल्लो तहका निर्वाचित सदस्य, पदाधिकारीहरुलाई माथिल्लो तहमा उम्मेदवारी दिँदा आफ्नो तल्लो तहको पदबाट राजिनामा दिनु पर्ने व्यवस्था थिएन । तर अब राजीनामा दिनु अनिवार्य गरिएको छ ।
पार्टीको कुनै तह वा स्तरमा समितिहरु बनाउँदा राजपा नेपालमा एकीकृत ६ वटै दलको सम्बन्धित स्तरका कार्य समितिमा आपसी सहमतिको आधारमा मात्रै गठन गर्ने प्रावधान धारा ३१(७) मा रहेकोमा यो उपधारा बैठकले हटाएको छ ।
विधानमा निर्वाचित सदस्य, पदाधिकारीहरुको लागि सपथ ग्रहणको व्यवस्था छुट्न गएको बताउँदै पार्टीलेसपथ ग्रहणको व्यवस्था समेत गरेको छ । सो सम्बन्धी व्यवस्था विधानको अनुसूची–४ मा समेटेको छ ।