यातायात समितिलाई महासङ्घले भन्योः पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्नु

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १०:३७ मा प्रकाशित

काठमाण्डु, ५ जेठ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ ।

महासङ्घ र सरकारबीच भएको सहमति अनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो ।

महासङ्घले सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन अनुसार कम्पनी दर्ता गर्न आग्रह गरेको हो ।

महासङ्घका महासचिव सरोज सिटौलाले सरकार र महासङ्घबीच भएको सहमति अनुसार सबै यातायात समितिलाई कम्पनीमा दर्ता हुनुपर्ने बताए । ‘पाँच दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासङ्घले लिँदैन’, उनले भने ।

देशभर चल्ने सार्वजनिक सवारीसाधन यातायात समिति र केही सवारीसाधन कम्पनीमा दर्ता भएर सञ्चालित छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us