१८ लाख घुस लिने न्यायाधीशको मुद्धा सर्वोच्चद्वारा अस्वीकार

काठमाण्डु टुडे २०७६ जेठ २ गते १४:२३ मा प्रकाशित

काठमाण्डु, २ जेठ — सर्वोच्च अदालतले उच्च अदालत पाटनमा कार्यरत एक न्यायाधीशविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ ।

सर्वोच्चले तत्कालीन जिल्ला न्यायाधीश तथा हाल उच्च अदालतमा कार्यरत लेखनाथ ढकालविरुद्धको मुद्दा दरपीठ गरेको हो ।

ढकालविरुद्ध काभ्रेका उमेश बानियाँले १८ लाख घुस लिएको भन्दै सर्वोच्चमा मुद्दा दर्ता गर्न खोजेका थिए तर कायममुकायम रजिष्ट्रार नारायण पन्थीले त्यसलाई दरपीठ गरिदिएका हुन् । उक्त विषयमा न्यायपरिषदले छानबिन गरेको र उजुरी तामेलीमा राखिएको भन्दै मुद्दा दर्ता नगरेको बताइएको छ ।

बानियाँले तत्कालीन जिल्ला न्यायाधीश ढकालले पेट्रोलियम पदार्थ कालोबजारी मुद्दामा बदनियत राखेर आफूसँग १८ लाख घुस लिएको दाबी गरेका छन् । उनले कालोबजारी मुद्दामा आफू र अन्य एकजनामध्ये एउटालाई धरौटीमा छोडेर आफूलाई थुनामा पठाएको आरोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us