केपी ओलीलाई काँग्रेसले समेत लगाउन नसकेको आरोप माधव नेपालले लगाए

काठमाण्डु टुडे २०७६ जेठ १ गते २२:४९ मा प्रकाशित

काठमाण्डु, १ जेठ –विपक्षी काँग्रेसले प्रधानमन्त्री केपी ओलीमाथि लगाउँदै आएको दम्भी र अहंकारीको आरोप सत्तारुढ नेकपाकै एक वरिष्ठ नेताले लगाएका छन् ।
नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाईको दम्भ प्रदर्शन नगर्ने प्रधानमन्त्री ओलीलाई चेतावनी दिए । उनले नेकपाले दुई तिहाई नभई बहुमत मात्र ल्याएको नबिर्सन भने । ‘सरकारले दुई तिहाइको दम्भ नदेखाए हुन्छ’, युवा संघ नेपालको स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीतर्फ लक्षित गर्दै नेता नेपालले भने, ‘ख्याल गर्नुहोला, हामीले पाएको ५५ प्रतशित मत हो, दुई तिहाई होइन ।’

उनले अहंकार, दम्भ र सर्वश्रेष्ठ छु भन्ने घमण्डले व्यक्ति मात्र नभई पार्टीलाई नै पतनको दिशामा लैजाने भन्दै चिन्ता व्यक्त गरे । उनले धेरै बोल्ने र थोरै सुन्ने बानी त्याग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए । धेरै बोल्न छाडेर जनताको चाहना र समस्यालाई केन्द्रमा राखेर काम गर्न सरकारलाई सुझाए । पार्टी र सरकारमा विकृति झाँगिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us