
झापा, १ वैशाख – झापा कारागार भद्रपुरमा सुरक्षार्थमा खटिएका एक प्रहरीले इटालियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना खुलासा भएको छ । कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको हो ।
प्रहरी नायब निरीक्षक आचार्य घर बिदा गएका बेला कारागार सुरक्षाको जिम्मा प्रहरी सहायक निरीक्षक हीरण सिंहलाई दिइएको थियो ।
एक प्रहरीले प्रहरी जवान कुमार भोटेलाई हतियार बुझाएको रेकर्ड छ । तर, बिहान पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन नभेटिएपछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीबाटै हतियार हराएको घटना सार्वजनिक भएको हो ।
कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति बनेको छ । छानविन समितिले हराएको हतियारको विषयमा अनुसन्धान थालेको बताइएको छ ।
यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हतियार हराएको विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘डिएसपीको नेतृत्वमा छानविन समिति गठन गरी अनुसन्धान हुँदैछ ।’